सुन तस्करीमा दोस्रो चरणको अनुसन्धान, गोरेका थप दुई सहयोगी पक्राउ

ताजा समाचार राष्ट्रिय खबर

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा छानबिन टोलीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । सोमबार थप दुईजनालाई पक्राउ गरिएको छ ।सुन तस्करीका नाइके भनिएका चूडामणि उप्रेती उर्फ गोरेलाई हुन्डिमार्फत पैसा लेनदेन गरेर सहयोग गरेको आरोपमा झापाको दमकका विनोद अधिकारी र दोलखाका भीमेश्वरका मोतिराम श्रेष्ठलाई पक्राउ गरिएको हो । संगठित अपराधअन्तर्गत भइरहेको सुन तस्करीको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोलीको दोस्रो चरणको अनुसन्धानबाट अधिकारी र श्रेष्ठलाई पक्राउ गरिएको जनाएको छ ।

सोमबार पक्राउ परेका अधिकारीको दमकमा मनिचेन्जर छ । उनले त्यहीँबाट सुनका लागि हुन्डिमार्फत दुबईमा बस्ने श्रेष्ठलाई पैसा पठाउने गरेको प्रहरीको दाबी छ । दुवैजनालाई अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालत मोरङबाट पाँच दिन म्याद थप गरिएको छ । सुन तस्करी मुद्दामा पक्राउ पर्नेको संख्या ३२ पुगेको छ ।

दोस्रो चरणको अनुसन्धानमा थप आरोपी पक्राउ पर्न सक्ने भएकाले सबैको एकमुष्ट अभियोग दर्ता गरिने सरकारी वकिलको कार्यालय मोरङले जनाएको छ । सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले दोस्रो चरणमा पक्राउ परेकाहरूलाई पूरक अभियोगअन्तर्गत अदालतमा म्याद थप गरिएको बताए । अब प्रहरीले उनीहरूलाई ६० दिनसम्म हिरासतमा राखेर थप अनुसन्धान गर्न पाउने उनको भनाइ छ ।

पहिलो चरणअन्तर्गत संगठित अपराध, अपहरण र कर्तव्य ज्यान मुद्दामा मोरङ प्रहरीले पक्राउ गरेका ३० र फरार ३३ गरी ६३ जनाविरुद्ध १९ वैशाखमा जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । जसमा थुनछेक बहस चलिरहेको छ ।

प्रतिवादीको बहस जारी
सुन तस्करी, अपहरण र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतमा थुनछेकको बहस जारी छ । सोमबार जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा प्रतिवादी पक्षका १० वकिलले बहस गरे । वरिष्ठ अधिवक्ता योगेन्द्र न्यौपाने, अधिवक्ताहरू माधव आचार्य, सुरेशलाल श्रेष्ठ, राजेन्द्र भट्टराई, जगन फुँयाल, रामबहादुर राउत, अमरबहादुर राउत, रिता महर्जन, सुनीलकुमार सिंह, हरिनारायण चौधरीलगायतले बहस गरेका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *