नेपाली सेनाले खारानेटामा बनाईदियो अस्पताल

ताजा समाचार राष्ट्रिय खबर स्वास्थ्य

नेपाली सेनाले रुकुम(पश्चिम)को त्रिवेणि गाउँपालिका तीन खारानेटामा पाँच शैयाको अस्पताल बनाएको छ । नेपाली सेनाको देवि दल गण सल्लेले ११ लाखको लागतमा पाँच शैयाको अस्पताल निर्माण गरेको हो ।नागरिक र नेपाली सेनाबीच सम्बन्ध स्थापित गर्ने उद्देश्यले अस्पताल निर्माण गरेको देवि दल गणका गणपति, प्रमुख सेनानी पंकज रावलले जानकारी दिए । नागरिकहरुलाई सामान्य स्वास्थ्य सेवा लिनका लागि पनि टाढा जानु नपरोस तथा नागरिक र सेनाको सम्बन्धलाई सुमधुर बनाउँन अस्पताल निर्माण गरिएको उनको भनाई छ । सम्बन्ध स्थापित गर्न सेनाले धारा निर्माण, मुहान संरक्षण, बिद्यालय मर्मत लगाएतका काम गर्दै आएको र सोही अनुसार खारानेटामा अस्पताल निर्माण गरेको उनले बताए ।

अस्पताल गाउँपालिकालाई हस्तान्तरण
मंगलबार गाउँपालिकालाई अस्पताल हस्तान्तरण गरिएको छ । चार कोठे भवन नेपाली सेनाका उत्तर–पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी कर्मेन्द्र विक्रम लिम्बुले गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीलाई अस्पताल हस्तान्तरण गरेका हुन् । अस्पतालका लागि आवश्यक भौतिक संरचना सेनाले निर्माण गरिदिएको र यसका लागि आवश्यक जनशक्ति तथा सामाग्रीको व्यवस्था गरेर छिट्टै अस्पताल संचालनमा ल्याउँन आग्रह गरिएको छ । आफुहरुले सकेको जति सहयोग गरेको र अस्पतालको दिगोपनाका लागि आगामि दिनमा पनि सहयोगलाई जारी राख्ने पनि रावलले आश्वासन दिए । अस्पतालबाट नागरिकहरुले स्वास्थ्य सेवा पाउँनेमा आफु विश्वस्त रहेको उनको भनाई छ ।

चाँडै सञ्चालनमा आउँछ :गाउँ अध्यक्ष
गाउँपालिका अध्यक्ष घर्तीले यो अस्पताललाई छिट्टै संचालनमा ल्याउँने बताए । अस्पतालका लागि आवश्यक जनशक्ति र सामाग्रीको व्यवस्था गरेर छिट्टै अस्पताल संचालनमा ल्याई नागरिकहरुलाई स्वास्थ्य सेवा प्रवाह गर्ने उनको भनाई छ । ‘हामिले ल्याबमा काम गर्ने सहितका केहि जनशक्तिको व्यवस्था गरिसकेका छौं, उनले भने, ‘अव छिट्टै अन्य जनशक्ति सहित औषधि लगायतका सामाग्रीको व्यवस्था गर्ने छौं, यसका लागि गाउँकार्यपालिकाबाट निर्णय भैसकेको छ ।’ सेनाले अस्पताल निर्माण गरेर यहाँ नागरिक र स्थानीय सरकारलाई ठुलो गुण लगाएको भन्दै उनले सेनालाई धन्यवाद समेत दिए । यसलाई नागरिकको सम्पतिका रुपमा संरक्षण गर्ने समेत अध्यक्ष घर्तीले बताए ।

अस्पताल निर्माण गरेर सेनाले आफुहरुलाई ठुलो गुण लगाएको स्थानीयले बताएका छन् । स्थानीय विरभान ओलीले सामान्य स्वास्थ्य सेवा लिनका लागि पनि टाढा टाढा जानुपर्ने बाध्यताको अव अन्त्य हुने भन्दै खुशि व्यक्त गरे । अस्पताल निर्माणका लागि जग्गा दान गर्ने स्थानीय धनसरी खड्का ओली र रामसिंह सुनारलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ । यस अस्पतालबाट ल्याब सहितको स्वास्थ्य सेवा प्रवाह हुने बताईएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *