अकबरे खोर्सानीबाट वार्षिक १२ करोड आम्दानी

आर्थिक समाचार ताजा समाचार राष्ट्रिय खबर

तेह्रथुमका किसानले अकबरे खोर्सानीबाट लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् । यहाँका हजारौँ किसानले व्यावसायिक रूपमा अकबरे खोर्सानीको खेती गर्दै आएका छन् । धेरै किसानले खोर्सानीको बेर्ना उत्पादन गरेरसमेत मनग्ये आम्दानी गरिरहेका छन् ।

यहाँका प्रत्येकजसो घरमा अकबरे खोर्सानीको खेती गरिन्छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक हरिगोपाल आचार्यले जिल्लामा अकबरे खोर्सानीबाट वार्षिक १२ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको बताए ।पहिले गाउँमा बिहे, व्रतबन्धलगायत भोजभतेर हुँदा बजारबाट खोर्सानी किनेर ल्याउँथ्यौँ,’ आठराई गाउँपालिका–५, छातेढुंगाका चन्द्र तिवारीले भने, ‘अहिले गाउँ नै खोर्सानीमय भएको छ ।’ तिवारीले ३० हजारभन्दा बढी खोर्सानीका बेर्ना उमारेका छन् । उत्पादित बेर्ना आफैँले रोप्ने र बाँकी बेर्ना बिक्री गरेर आम्दानी गर्ने उनले बताए ।

आफूले उत्पादन गरेका बिरुवा अरूले उत्पादन गरेका बिरुवाभन्दा गुणस्तरीय हुने दाबी उनले गरे । एक दशक तिवारीले निरन्तर अकबरेको खेती गर्दै आएका छन् । गत वर्ष अकबरेको बेर्ना र फल बिक्रीबाट करिब ३ लाख रुपैयाँ आम्दानी गरेको उनले सुनाए ।

दर्जनौँ गाउँमा खेती

अन्य खेतीभन्दा सहज भएकाले अकबरे खोर्सानीको खेती आफूले निरन्तर गरिरहेको र राम्रो आम्दानीसमेत लिएको आङ्दिमकै अर्की किसान बिन्जु बस्नेतले बताइन् । उनले पनि यो वर्ष अकबरे खोर्सानीको ५० हजार बिरुवा उत्पादन गरेकी छिन् । ‘रासायनिक मलको प्रयोग गरेको छैन, त्यसैले बिरुवा सजिलै सर्ने गर्छन्,’ उनले भनिन् । किसानले अग्र्यानिक उत्पादनलाई समेत जोड दिन थालेका छन् । अग्र्यानिक उत्पादन भन्नासाथ बजारमा राम्रो कारोबार हुने गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *