काठमाडौंबाट लगेको सुन गड्डाचौकीमा बरामद

ताजा समाचार राष्ट्रिय खबर

आधा किलो सुनसहित दुई भारतीय पक्राउ तस्करीको सुन भएको प्रहरीको भनाइ
पश्चिमी सीमानाका गड्डाचौकीबाट आधा किलोग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूले काठमाडौंबाट तस्करीको सुन लिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

विशेष सूचनाका आधारमा बुधबार बिहान भारतीय नम्बरको प्लेटको जिपमा लुकाएर लग्दा सुन बरामद गरिएको प्रहरीले जनाएको छ । एचआर१२एएफ ०००६ नम्बरको जिपमा सुन लगिरहेका भारतीय नागरिक जितेन्द्र सैनिक र सुरेश कुमारलाई पक्राउ गरिएको छ । दुवैजना भारतको हरियाणाका बासिन्दा भएको प्रहरीले जनाएको छ ।कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख मदन दाहालले ‘विशेष सूचना’का आधारमा ब्यारियलमा सुन र दुवै भारतीय नागरिक समातिएको बताए । ‘यो तस्करीकै सुन हो, भारत लगिरहेका थिए,’ दाहालले भने । बरादम गरिएको सुनको बजार मूल्य २५ लाख रुपैयाँ रहेको छ ।

भन्सारमै अनुसन्धान
सुनसहित पक्राउ परेका दुवैजनामाथि भन्सार कार्यालयले अनुसन्धान सुरु गरेको छ । भन्सार ऐनअनुसार चोरी निकासी गर्दा बरामद भएको सामानको बिगो एक करोडसम्म भए भन्सार अधिकृतले र त्योभन्दा माथि भए अदालतले सजाय तोक्ने व्यवस्था छ । अनुसन्धानमा संलग्न भन्सार कर्मचारीका अनुसार उनीहरूले काठमाडौंबाट सुन ल्याएको बताएका छन् ।

कञ्चनपुरका भन्सार अधिकृत दाहालले प्रारम्भिक अनुसन्धानकै क्रममा रहेकाले अहिले यकीन भन्न नसकिने बताए । ‘यो संगठित गिरोहबाट तस्करी भइरहेको सुन हो वा कुनै व्यवसायीबाट तस्करी भएको सुन हो, त्यसबारेमा अनुसन्धान गरिरहेका छौँ,’ उनले भने । सुन बरामद गरिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले पश्चिमी नाकामा कडाइ गरेको छ ।

तीन दिनअघि आएको थियो गाडी
सुन बरामद गरिएको गाडी तीन दिनअघि मात्रै नेपाल आएको थियो । भारतको हरियाणकै श्याम लालको नाममा रहेको जिपले नेपालभित्र चलाउन ३१ वैशाखमा चार दिनका लागि अनुमति लिएको थियो । एक दिन म्याद बाँकी छँदै जिप फर्किन लागेको थियो । जिप जितेन्द्रले नै चलाइरहेका थिए । उनले सुन आफ्नो भएको बयान दिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *