बारम्बार स्थगित ए डिभिजन लिग असोज दोस्रो साताबाट हुने

खेलखुद ताजा समाचार राष्ट्रिय खबर

ए डिभिजन लिग १३ असोजदेखि १६ माघसम्म हुने-

लामो समयदेखि मिति घोषणा र स्थगन हुँदै आएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता असोजको दोस्रो साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा गठित लिग कमिटीले ए डिभिजन लिगको मिति सार्वजनिक गरेको हो । एन्फा कार्यसमितिको २४ वैशाखमा बसेको बैठकले समितिलाई क्लबहरूसँग छलफल गरेर लिगको मिति तथा ढाँचा तय गर्न १० दिनको समय दिएको थियो ।

४ महिना लिग
ए डिभिजन लिग १३ असोजदेखि १६ माघसम्म हुनेछ । १४ ए डिभिजन क्लबले भाग लिने निर्णय भए पनि लिगको संरचना कस्तो हुने भन्ने तय हुन बाँकी छ । साथै, पुरस्कार तथा अन्य प्राविधिक विषयमा टुंगो लाग्न बाँकी नै छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले अब लिग तोकिएकै समयमा हुने स्पष्ट पारे । उनले भने, ‘सहिद स्मारक ए डिभिजन लिग नै हुन्छ । अब लिग विशिष्ट कारणबाहेक तोकिएकै समयमा हुन्छ ।’ उनले लिगको संरचना तथा पुरस्कारका विषयमा छलफल हुने र चाँडै सबै विषयमा टुंगोमा पुग्ने जानकारी दिए ।

क्लब सकारात्मक
राष्ट्रिय पूर्वखेलाडी तथा प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको संयोजकत्वमा गठित कमिटीले क्लबहरूसँग छलफलपछि मिति तय गरेको हो । शर्माले क्लबहरूका केही समस्या रहे पनि समाधान गर्न सकिने खालका भएकाले एन्फा कार्यसमितिमा क्लबका कुरा राख्ने बताए । उनले भने, ‘लामो समयदेखि लिग भएको छैन । लिगका विषयमा क्लबसँग छलफल गर्दा उहाँहरू उत्साही हुनुहुन्छ, तर उहाँहरूका केही गुनासा र समस्या रहेको जानकारी गराउनुभएको छ । यो कुरा हामी एन्फा कार्यसमितिमा राख्नेछौँ ।’

क–कसले पाउँछन् भाग लिन
फुटबल विकासकै मेरुदण्ड मानिने लिगमा ए डिभिजन क्लबले सहभागिता जनाउनेछन् । लिगमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, सरस्वती युथ, च्यासल युथ, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाउनेछन् । त्यस्तै, तीन विभागीय टोली नेपाल पुलिस, नेपाल एपिएफ र त्रिभुवन आर्मी पनि सहभागी हुनेछन् । जावलाखेल युथ, फ्रेन्ड्स क्लब, मच्छिन्द्र र संकटा क्लब पनि रहनेछन् । लिग कमिटीले सबै क्लबलाई बढीमा ३५ र कम्तीमा १८ खेलाडी अनुबन्धको स्वीकृतिसमेत प्रदान गरेको छ । सँगसँगै प्रत्येक क्लबले बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्न पाउने र एक खेलमा बढीमा तीनजना विदेशी खेलाडीलाई मैदानमा उतार्न सकिने प्रावधान लागू गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *