पक्राउ पर्ने डरले धमाधम निर्माण !

आर्थिक समाचार ताजा समाचार राष्ट्रिय खबर

Share Please

गृह मन्त्रालयले सम्बन्धित सरोकारवाला कार्यालयलाई निर्माणकार्यमा ढिलाइ गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीको लगत जिल्ला प्रशासन कार्यालयमा बुझाउन र आवश्यक परे पक्राउ गर्न निर्देशन दिएपछि झापाका निर्माण व्यवसायी पक्राउ पर्ने डरले धमाधम काम गर्न थालेका छन् ।
सडक डिभिजन कार्यालय दमकले झापाका मेचीनगरको धाइजनस्थित हडियाखोलाका पुल, गौरादह नगरपालिकाको सिस्नेखोलाको पुल र कन्काई खोलामा पुल संरक्षणको काममा ढिलाइ भएकोमा गृह मन्त्रालयले सम्बन्धित सरोकारवाला कार्यालयलाई निर्माणको काममा ढिलाइ गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीको लगत जिल्ला प्रशासन कार्यालय झापामा बुझाउन र आवश्यक परे पक्राउ गर्न निर्देशन दिएपछि धमाधम काम गर्न थालेको सडक डिभिजन कार्यालय दमकका डिभिजन प्रमुख एवं इन्जिनियर राजेशकुमार यादवले बताए ।

हडिया खोलाको पुल लामा/मैनाचुली जेभीले २०६७ साल पुस २८ गते निर्माण सम्झौता गरेर कामअघि बढाउनुपर्ने थियो । म्याद थप गरेर २०७२ साल असार २४ गते सक्नुपर्नेमा अहिलेसम्म ५५ प्रतिशतमात्र काम भएको छ । सुरुवातको समयमा केही काम अघि नबढे पनि पछिल्लो समयमा भने केही काम भएको देखिएको छ । यसको लागत ५ करोड ८७ लाख ५३ हजार छ । यसैगरी गौरादहको किस्ने खोलाको पुलको अवस्थामा पनि उस्तै छ । डिभिजन प्रमुख यादवका अनुसार रौताह/सगरमाथा जेभी गाईघाटले २०६८ साल फागुन ५ गते उक्त निर्माणकार्यको सम्झौता गरेको थियो । अहिलेसम्म यसको प्रगति ३५ प्रतिशतमात्र रहेको डिभिजन प्रमुख यादवले बताए । २ करोड ७९ लाखको लागतमा निर्माण सम्झौता भएको पुल २०७० सालमा बनिसक्नुपर्ने थियो ।
यसैगरी अघिल्लो वर्ष वर्षाले कन्काई पुलमा क्षति पु¥याउने अवस्था आएपछि यसको संरक्षण गर्नका लागि एक करोड ४६ लाख ९३ हजारमा निर्माण सम्झौता भएकोमा यो कामसमेत ढिलाइ भएको थियो । गतवर्ष असारमा नै सक्नुपर्ने काम अहिलेसम्म भएको छैन । प्रवेश/वशिष्ठ/बस्नेत जेभीले निर्माण सम्झौता गरेको र यसको काम पनि सन्तोषजनक नभएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।

यसैगरी सडक डिभिजन कार्यालय दमकमार्फत स–साना कामको ठेक्का लिएका निर्माण व्यवसायी सम्पर्कमा नरहेकाले हिसाबकिताब फरफारक गर्न समस्या भएको सडक डिभिजन कार्यालयका प्रमुख यादवले बताए । उनका अनुसार पूर्व–पश्चिम राजमार्ग र मेची राजमार्गको विभिन्न ठाउँमा मर्मत सम्भारको सम्झौता गरेर ७८ प्रतिशतदेखि ९५ प्रतिशतसम्म काम गरेका निर्माण व्यवसायी अहिलेसम्म सम्पर्कमा आएका छैनन् । मेची राजमार्गको मर्मत सम्भारको सम्झौता गरेको नागार्जुन कन्ट्रक्सनले ९० प्रतिशत काम सकेको तर अहिले सम्पर्कमा नरहेको यादवले बताए । यसैगरी अम्बिका/गौरी जेभी, सिद्धार्थ निर्माण सेवा र सगरमाथा/घिमिरे जेभी पनि सम्पर्कमा नआएपछि जिल्ला प्रशासन कार्यालय झापामा उनीहरूको नाम पठाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *