चीनकै अनुदानमा केरूङ–काठमाडौं रेल मार्ग’

ताजा समाचार राष्ट्रिय खबर

Share Please

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका नेता एवं परराष्ट्र मामिलाका जानकार डा.राजन भट्टराईले चीनकै अनुदानमा केरुङ–काठमाडौं रेलमार्ग बन्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको विषयलाई लिएर आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै डा.भट्टराईले केरुङदेखि काठमाडौंसम्म ल्याउने भनिएको रेल चीनीया अनुदानमै बनाउनेबारे छलफल भैरहेको खुलासा गरेका हुन् । नेता डा.भट्टराईले आन्तरिक स्रोतले बनाउन सक्ने अवस्थामा नभएकाले चीनले अनुदानमा बनाइदिए मात्रै काठमाडौंमा रेल आइपुग्ने र जुन कुरा प्रधानमन्त्रीले समेत बारम्बार भनिसक्नु भएको जनाए ।

प्रधानमन्त्री ओली दुई वर्षअघि प्रधानमन्त्री हुँदा चीनसँग भएका रेलदेखि तेलसम्मका १०बुँदे सम्झौतालाई कार्यान्वयनमा लैजान यसपटक प्राथमिकता दिइने जानकारी दिए । उनले चीनसँग भएका पारवाहन तथा यातायात सन्धी, रेल, उत्तर–दक्षिण राजमार्ग, क्रस–बोर्डर ट्रान्समिसन र आर्थिक लगानी तथा द्विपक्षीय व्यापारलगायतलाई अब दु्रत गतिमा कार्यान्यवन गर्न चीनीया पक्षसँग कुरा गरिने बताए । ‘हाम्रो आन्तरिक कारणले गर्दा यसअघि चीनसँग भएका सम्झौताहरूको कार्यान्वयन सोचेजस्तो भएको छैन’ उनले भने, ‘तीन चरणको निर्वाचनपछि देशमा राम्रो वातावरण बन्नुका साथै पाँच वर्षे स्थिर सरकार रहेको यो अवस्थामा अब विगतमा भएका सबैखाले सहमति तथा सम्झौताहरू कार्यान्वयन हुनेछ ।’ उनले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा नयाँ सम्झौताहरू हुने पनि बताए । विगतमा भएका सहमतिको कार्यान्वयन र नेपालमा विदेशी लगानी भित्र्याउनको लागि सरकारले नीतिगत स्थायित्वको विश्वास दिलाउन सक्नु पर्ने भन्दै डा.भट्टराईले सरकार अहिले त्यसैको आन्तरिक गृहकार्यमा जुटेको बताए । उनले चीन भ्रमणको क्रममा नेपालमा लगानी भित्र्याउन हामीले विश्वासको वातावरण बनाउनु पर्ने जनाए ।

विश्वमै सबैभन्दा बढि प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) गर्ने देश चीन भएकोले नेपालले पनि चिनियाँ लगानी भित्र्याउन यो भ्रमणलाई महत्वपूर्ण अवसर बनाउनुपर्ने उनले बताए । ‘यो भ्रमणबाट हामीले नेपालमा राजनीतिक स्थायित्वसँगै नीतिगत स्थायित्व पनि छ भनेर आश्वस्त पार्न सक्नुपर्छ’ डा.भट्टराईले भने, ‘रेल, विद्युत, पर्यटक भित्र्याउने र कृषिलाई आधुनिकीकरण गर्ने लगायतका क्षेत्रमा हामीले चिनियाँ सहयोग लिनुपर्नेछ ।’त्यस्तै, उनले नेपालको कृषि क्षेत्रलाई आगामी दिनमा सेवामूलक क्षेत्रको रूप्मा विस्तार गर्न तत्कालिन, अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाहरू बनाउनुपर्ने बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *